ऊर्जा क्षेत्रमा रहेको दीर्घकालीन सम्भावनाको पूर्ण उपयोग नगर्दा राष्ट्रले अपेक्षित लाभ लिन सकेन : प्रचण्ड


Please Share:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रलाई रोजगारी सिर्जना र लगानीको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

आज ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को आयोजनामा भएको पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा दाहालले ऊर्जा क्षेत्रमा रहेको दीर्घकालीन सम्भावनाको पूर्ण उपयोग नगर्दा राष्ट्रले अपेक्षित लाभ लिन नसकेको बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले अब यस क्षेत्रलाई समृद्धिको मुख्य आधार बनाउन आवश्यक रहेकामा जोड दिए ।

नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा क्षेत्रमा नियामक, सञ्चालक र विकासकर्ता एउटै संस्थामा सीमित रहनु समस्या भएको बताए । यसैगरी, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रलाई राष्ट्र विकासको प्रमुख आधार मान्दै सरकारले यसलाई गम्भीरतापूर्वक लिएर नीतिगत रूपमा अघि बढाउनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अन्तर मन्त्रालय समन्वयको अभाव औँल्याए । नेपाल उद्योग व्यापार महासङ्घका अध्यक्ष खिमलाल भण्डारीले ऊर्जा क्षेत्रमा जनसहभागिता अपरिहार्य रहेको धारणा राखे ।

प्रतिष्ठानका अध्यक्ष वर्षमान पुनले नदी प्रवाहमा आधारित आयोजनाले मात्र भविष्यमा माग धान्न नसक्ने भएकाले जलाशययुक्त आयोजनामा जोड दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *