गण्डकी । पोखरा, चितवन, काठमाडौँलगायत सहरमा अस्थायी बसोबास गर्ने नागरिकलाई यहाँका स्थानीय तहले घुम्ती शिविरमार्फत सेवा प्रदान गरेका छन् । बागलुङ, म्याग्दीसहित पहाडी जिल्लाबाट विभिन्न कारणले सहर झरेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला आदिलाई सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नवीकरणलगायत सेवा प्रदान गरिएको हो ।
बागलुङको गलकोट नगरपालिकाले बिहीबार गण्डकी प्रदेश राजधानी पोखरामा बस्ने लाभग्राहीलाई उक्त सेवा प्रदान गरेको हो । गलकोट–७ का वडाध्यक्ष राज थापाको नेतृत्वमा आएको जनप्रतिनिधि र कर्मचारीको टोलीले एक सय ५० भन्दा बढी लाभग्राहीको परिचयपत्र नवीकरण गरेको नगरपालिकाले जनाएको छ । सात प्रकारका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले उक्त सेवा लिएको वडाध्यक्ष थापाले बताए । गलकोट समाज पोखराको समन्वयमा घुम्ती शिविर सञ्चालन गरिएको थियो ।
वडाध्यक्ष थापासहित नगरपालिकाको पञ्जीकरण शाखाका प्रमुख लोकेन्द्र गैरे, वडा नं ३ का वडासचिव चन्द्रबहादुर श्रीस, वडा नं ७ की कार्यालय सहायक सरस्वती थापा केसीलगायतको टोलीले सेवा प्रदान गरेको नगरपालिकाले जनाएको छ ।











Leave a Reply