कञ्चनपुर । सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् । यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरु माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरु खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन् । साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ । यस क्षेत्रमा प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरादेवीका रुपमा पूजा गरिँदै आएको छ ।
भाद्र महिनामा मनाइने गौरा पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । विवाहित नारीहरुले आफ्नो कूल परम्पराअनुसार पुरुषहरु जस्तै यज्ञोपवितका रुपमा दुवधागो लाउने प्रचलन यस क्षेत्रमा रहेको छ । पहिलो चोटी उक्त दुवधागो लगाउनका लागि उजेली गौरा परेको पर्व सर्वप्रथम पुत्रदा एकादशीको ब्रत बसेपछि मात्र गौराको उपासना गर्न मिल्ने जानकारहरु बताउँछन् ।
लोक साहित्यका जानकार कविराज भट्टले पुत्रदा एकादशीको ब्रत बसिसकेकी विवाहित महिलाले भाद्र महिनाको बिरुडा पञ्चमीका दिन ब्रत बसेर बिरुडा भिजाएपछि गौरा पर्व विधिवत रुपमा सुरु हुने बताउछन् । उहाँका अनुसार उक्त अवसरमा माङ्गल गीत (सगुन, फाग) सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौंतिलले सजाएर राख्ने प्रचलन छ । पाँच अन्न बिरुडा (मास, गहत, गहू, कलौं, गुरुस) तामाको ताउलीमा हाली सुगन फाग गायनसँगै भजाउने गरिन्छ ।
पञ्चमीको दिन भिजाएका बिरुडा दोस्रो दिन सगुन, फाग गायनसँगै महिलाहरुले पानीको मुहानमा लगेर पाँच पल्ट धुने गर्छन”, भट्टले भने, धारामा साँवाधानको गौराको सानो मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, दुप, दीप, फल आदिले पूजा गरी पुनःफाग गायनसँगै बिरुडा भिजाएकै स्थान घरमा आउँछन् । सप्तमीको दिन चेलीबेटीहरुले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाएर गौरा घरमा ल्याउने चलन छ ।











Leave a Reply