काठमाडौँ । नेकपा एमालेको जारी दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस हुनै सकेन । ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा थापाको फरक मत पनि पेस हुने जनाइएको थियो । तर कार्यसूचीमा राखेर पनि आफ्नो फरक मत पेस हुन नदिएको थापाले बताए ।
महाधिवेशनको पहिलो दिन अध्यक्ष, उपाध्यक्ष र महासचिवको प्रस्ताव पेस भएको थियो । बाँकी विभिन्न आयोगका प्रतिवेदन शनिबार पेस गर्ने कार्यतालिका भएपनि थापाको फरक मत पेस हुन नदिइएको हो । अन्य प्रतिवेदन पेस भएलगत्तै ती प्रतिवेदनमाथि समहुगत छलफल सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फरक मत पेस गर्न समय नदिएको थापाले बताए ।उनले भने, यो अत्यन्त गलत भयो, अलोकतान्त्रिक अभ्यास भयो ।
यसअघि थापाको फरक मत केन्द्रीय सचिवालयबाट अघि बढाइएको थियो । नेताहरूले थापाको मत महाधिवेशनमा पेस गर्ने सार्वजनिक रूपमै बताएका थिए । कमिटीले पास गरेको हो, सेड्युलमा पनि राखिएको हो तर पेस गर्ने अवसर दिइएन यसको सन्देश राम्रो जाँदैन, थापाको भनाइ छ ।
थापाले ३२ पेज लामो फरक दस्ताबेज तयार गरेका थिए । उनले खासगरी पार्टी भित्रको लोकतान्त्रिक अभ्यासको सवाल उठाउँदै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता होल्ड गर्न नहुने मत उठाएका थिए ।











Leave a Reply