केपी ओली सत्ता स्वार्थको लागि जस्तो सुकै छुरी चलाउन तयार छन् : डा. रावल


Please Share:

काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता स्वार्थको लागि जस्तोसुकै छुरी चलाउन तयार रहने यथार्थ छर्लङ्ग भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,मैले सिद्धान्त, विधि र प्रणालीको पक्षमा उभिएर पार्टी सुमार्गमा जानुपर्छ भन्दा त्यसलाई व्यक्तिगत स्वार्थ र झगडाको रूपमा लिनेहरूले केपी ओलीका उक्त भनाइबाट पार्टी र देशको दीर्घकालीन हितमा केन्द्रित मेरा धारणा, विचार र अडान केपीको असीमित सत्ता लिप्सा र अहमको कारण सह्य र स्वीकार्य नभएको सत्य, तथ्य अब त सबैलाई प्रष्ट भयो होला नि ? सत्ता स्वार्थको लागि जस्तोसुकै मित्र र पक्षधर माथि पनि छुरी चलाउन केपी ओली उद्धत हुनसक्ने यथार्थ छर्लङ्ग भयो होला नि ?

बालुवाटारमा गरिएको एउटा पार्टी भेलामा आफूलाई पार्टीको अपरिहार्य अध्यक्षको रूपमा प्रस्तुत गर्दै विद्या भण्डारीलाई अनुभवहीन र लालगेडी जस्ता अपमानित शब्दको प्रयोग गर्दै चर्को आलोचना गरिएको रावलले बताए ।

आफूले जनताको बहुदलीय जनवादको मान्यता अनुरूप दसौँ महाधिवेशनमा विधि र प्रणाली अनुसार काम र सबै प्रतिनिधिहरूलाई चाहेको पदमा प्रतिस्पर्धा गर्न दिनुपर्छ भन्ने मान्यतामा दृढतापूर्वक उभिएर अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँदै उनले अगाडि भने,त्यसरी उम्मेदवारी दिएको तथा धारणा र विचार उक्त मान्यता अनुरूप राखेको कारणले नै मलाई कथित स्पष्टीकरण सोधिएको र मैले पार्टीबाट बाहिरिनु परेको तथ्य स्वयं केपीबाट नै बालुवाटारमा स्वीकार गरिएको छ, उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *