डुबानले धानखेती नष्ट भएपछि सिँघाराखेती गर्दै किसान


Please Share:

महोत्तरी । साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका ८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि किसानहरूले अहिले वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालेका हुन् ।

समयमा पानी नपरेपछि ढिलो गरी रोपाइँ गरेका यहाँका किसानको बाली रातो खोलामा थुनेर राखिएको पानीले बाढीको रुप लिएपछि करिब २०० बिघा क्षेत्रफलको धानखेती नष्ट भएको थियो ।

पुनःधानखेती गर्न नसकिने गरी खेतका फाँटहरूमा पानी भरिएपछि वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालिएको किसान मनोज साहले बताउनुभयो । यस क्षेत्रमा बर्सेनि धानखेती डुबानमा पर्ने गरेको भन्दै यसले आर्थिक क्षतिका साथै शारीरिक परिश्रमसमेत खेर जाने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले यहाँका दर्जनौँ किसान वैकल्पिक रूपमा सिँघाराखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति भइरहेको देखेपछि कम लगानी र मेहनतमा मनग्य आम्दानी हुने सिँघाराखेतीतर्फ किसान आकर्षित हुँदै गएका स्थानीय चन्देश्वर साहले बताए । यहाँमात्रै नभएर धानखेतीको सुनिश्चित नहुने क्षेत्रमा कम लगानी गरी मनग्य आम्दानी हुने भएको विकल्प छनोट गर्नुपर्नेमा उहाँले जोड दिए ।

सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिघा पानी जमेर धानबाली नष्ट भएपछि विकल्पमा सिँघाराखेती सुरु गरिएको जलेश्वर नगरपालिका–१ वडाध्यक्ष अनिलकुमार झाले बताए । उन्का अनुसार जमेको पानीमुनि लहरामा फल्ने सिँघारा एक प्रकारको गुलियो फल हो । यो फल स्वास्थ्यका पोष्टिकतत्वले भरिएको हुने भएकाले स्थानीस्तरमा लोकप्रिय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *