तापमान वृद्धिलाई सीमित राख्न सबै पक्षले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ : राष्ट्रपति


Please Share:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनिवार्य रूपमा सबै पक्षहरूले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् ।

हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदहरूको सम्मेलनको आज भएको उद्घाटन समारोहमा उनले विशेषगरी विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न उक्त सम्झौता पालना गर्न आग्रह गगरेका हुन् ।

नेपालमा पहिलोपटक आयोजित हिन्दुकुश–हिमालय सांसदहरूको सम्मेलनमा उनले विश्व तापमान वृद्धि हुँदै गर्दा हिन्दुकुश–हिमालय क्षेत्र विश्व औसतभन्दा बढी दरमा तातिरहेको बताए। उनले पछिल्ला दशकमा यस क्षेत्रका हिमनदी द्रुत गतिमा पग्लिने भएका कारण बाढी र भूस्खलनजस्ता जलवायुजन्य विपद् वृद्धि भएको उल्लेख गरे ।

“जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब वैज्ञानिक प्रतिवेदनमा सीमित रहेनन्, यी त हाम्रो जीवनको कठोर वास्तविकता बनेका छन् ।

त्यसैले, यो सम्मेलन हाम्रो साझा र दिगो भविष्यको मार्गचित्र बनाउन ऐतिहासिक अवसर हो”, राष्ट्रपति पौडेलले भने, “यो हिन्दुकुश–हिमालय क्षेत्र–यसको भूगोल, हिमाल, वन, नदी, र वातावरण-को भविष्यबारे दृढ प्रतिबद्धता देखाउने अवसर हो ।”

उनले यस क्षेत्रका हिमालबाट बग्ने पानी, वनले दिएको अक्सिजन र उर्वर भूमि विश्वका दुई अर्बभन्दा बढी जनताको जीवन धान्ने आधार भएको र यही जीवनाधार अहिले संकटमा परेको भन्दै चिन्ता व्यक्त गरे ।

यी चुनौतीहरूबीच पनि जलवायु परिवर्तनको सामना गर्न, वायु प्रदूषण नियन्त्रण गर्न र जैविक विविधता संरक्षण गर्न सदस्य राष्ट्रहरूले गरेका उल्लेखनीय पहलप्रति उनले आभार प्रकट गरे । राष्ट्रपति पौडेलले हाम्रो क्षेत्रले विश्वलाई देखाएको विपरीत परिस्थितिमा पनि अनुकरणीय कदम चाल्न सकिन्छ भनेर उदाहरण देखाएको बताए ।

जलविद्युत् उत्पादन र प्रयोगमा सहकार्य, सौर्य ऊर्जाको प्रवद्र्धन, सामुदायिक वन संरक्षणमा सहभागिता, जलवायुजन्य विपद्को पूर्वसूचना प्रणालीको विकासजस्ता कार्य नेपालले गरेका महत्वपूर्ण पहलहरू भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *