दशैँका लागि भदौ २९ देखि सुकिला नोट साट्न पाइने


Please Share:

काठमाडौं । दशैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट बैंक नोट साट्न पाइने आज एक सूचना जारी गरेर जनाएको हो ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयहरु (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८२ भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले सूचनामा भनेको छ । साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट पनि सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ ।

चाडपर्वका बेला रु पाँच, १०, २०, ५० र १०० दरका नोटको माग अधिक हुने गरेको छ । बैंकले यस अघि १८ हजार रुपैयाँसम्म नयाँ (सुकीला) नोट साट्दै आएको छ । चाडपर्वका बेला नै केन्द्रीय बैंकले मैला नोट खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०६७-६८ को मौद्रिक नीति मार्फत ‘सफा नोट नीति’ सार्वजनिक गरेको थियो । आार्थिक कारोबारमा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैैंकलाई बुझाउने गरेका छन् ।

अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी विदेशमा नोट छापिने हुने गरेको छ । यसो गर्दा राज्यकोषबाट धेरै खर्च हुने भएकाले नोट सफा राख्न केन्द्रीय बैंकले अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *