पर्यटक बढेपछि ढोरपाटनमा घोडा व्यवसाय फस्टाउँदै


Please Share:

बागलुङ । एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका छन् ।

कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन् । बेकामे बनेका घोडा खच्चड बिक्री नहुँदा किसान चिन्तित भएका किसान पछिल्लो समय ढोरपाटनमा पर्यटक बढ्न थालेपछि घोडा व्यवसाय फस्टाउँदै छ ।

ढोरपाटनमा आउने पर्यटकले घोडामा सवार गर्न, तस्बिर तथा भिडियो खिच्नका लागि घोडा सवार गर्न थालेपछि पहिले बिक्री गरेका किसानले अहिले धमाधम किन्न थालेका छन् । पहिले बेकामे बनेका घोडा अहिले आम्दानीको स्रोत बन्न थालेका व्यवसायीको भनाइ छ ।

पर्यटकको चाप बढ्दै गएपछि अहिले घोडा व्यवसाय पनि फस्टाउन थालेको ढोरपाटन नगरपालिका ९ का खिमबहादुर विकले बताए । उपत्यकाबाट बुकीपाटनसम्म जानआउन रु चार हजारदेखि पाँच हजारसम्म लिने गरेको उनको भनाइ छ । घोडा चढेर चौरमा फोटो तथा भिडियो खिचेको रु ५० देखि रु १५० लिने जनाउँदै अहिले ढोरपाटनमा धेरैले घोडा किन्न थालेका उहाँले बताए ।

सेलढोर र जलजलासम्म घोडामा जाने गर्छन् । पहिले ढोरपाटनमा उत्पादन भएको आलु, स्याउ, सिमीलगायत वस्तु बजार पुर्‍याउने र बजारबाट अन्य खाद्यान्न ल्याउने घोडा खच्चडले अहिले पर्यटक बोक्न थालेका घोडा व्यवसायी धनराम विकले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *