काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भएर व्यापार गर्न गरिएको सम्झौताप्रति आपत्ति जनाउँदै कूटनीतिक प्रक्रियाबाट समस्या समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विषेश समयमा सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट व्यापारिक मार्ग बनाउन भएको सम्झौताको विषय कूटनीतिक तरिकाले समाधान गरिनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमै दुवै देशको भ्रमण गर्ने तालिका तय भएकाले कूटनीतिक वार्ताका माध्यमबाट समस्या समाधान गरिनुपर्ने बताए। सबै नेपाली एक भएर यस विषयमा साथ दिनुपर्ने सांसद खतिवडाको भनाइ थियो ।
सांसद वर्षमान पुनले सरकारले संसद्लाई छलेर करका दरमा हेरफेर गरेको समाचार आएको उल्लेख गर्दै आर्थिक विधेयक पारित भएको एक महिनामै संसद्ले पारित गरेको कानुन विपरीत हेरफेर गर्नु आर्थिक अपराध भएको आरोप लगाएका छन् । यस विषयमा उनले अर्थमन्त्रीको जवाफ माग गरेका छन् ।
सांसद मेटमणि चौधरीले भारत र चीनले लिपुलेकबाट व्यापार गर्ने सम्झौता दादागिरी भएको बताएका छन् । नेपाल र नेपालीलाई जिस्क्याउने प्रयास कसैले गर्न नहुने उनको भनाइ थियो । प्रधानमन्त्रीको चीन र भारत भ्रमणको कार्यतालिका तय भएकाले त्यसबेला कुरा उठाएर समस्या समाधान गरिनुपर्नेमा उनले जोड दिए ।











Leave a Reply