संसद् विघटन सर्वोच्च अदालतको व्याख्या विपरीतः नेपाली कांग्रेस


Please Share:

काठमाडौँ । नेपाली कांग्रेसले शान्ति संविधान र लोकतन्त्रका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्या विपरीत रहेको जनाएको छ ।

मुलुकको पछिल्लो विकसित घटनाक्रमका सम्बन्धमा शुक्रबार राति बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् विघटन संविधानसम्मत नरहेको निर्णय गरेको हो । बैठकले उक्त कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको निष्कर्ष निकालेको छ ।

उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा भएको बैठकमा सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेता आमन्त्रित रूपमा सहभागी थिए । जेनजी युवाको आह्वानमा यही भदौ २३ र २४ गते भएको आन्दोलनपछिको विषम परिस्थितिमा संवाद मार्फत समाधानका लागि राष्ट्रपतिले पहलकदमी लिनुपर्छ र सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्नुपर्छ भनेर कांग्रेसले भदौ २५ गते नै विज्ञप्तिमार्फत स्पष्ट धारणा सार्वजनिक गरेको जनाएको छ ।

जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिएर अघि बढ्नुपर्ने र त्यसले मात्र बदलिएको परिस्थितिबमोजिमको समाधान दिने उल्लेख गर्दै कांग्रेसले ‘आवश्यकताको सिद्धान्त’अनुरुप संविधानबमोजिम वैधानिक बाटोबाट नै अगाडि बढाउन सकिने सुझाव दिएको थियो ।

कांग्रेसले भदौ २३ र २४ मा भएको अप्रिय तथा अनपेक्षित घटनाहरुको छानविन गरी कार्वाहीको दायरामा ल्याउँदै पुनर्निर्माणमा जुट्नुपर्ने र संविधानसभाले निर्माण गरेको संविधान, त्यसले लिपिबद्ध गरेका परिवर्तन र उपलब्धिलाई जोगाउनुपर्ने आग्रह गरेको छ । त्यसैले यो अवस्थामा एकातर्फ कसैले उत्तेजना नफैलाओस् र अर्कोतर्फ संवैधानिक रिक्ततामा टेकेर जनताले दशकौँको सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धि उल्ट्याउने दुस्प्रयास नहोस् भन्नेतर्फ पनि सचेततापूर्वक ध्यान दिनुपर्नेछ, यो गुरुत्तर दायित्व कांग्रेससँग अपेक्षित छ, मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *