काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा समावेश आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुनेगरी गर्न आदेश जारी गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण, मर्मतसम्भार, क्षतिबाट प्रभावितका लागि राहत तथा आर्थिक पुनरुत्थान र सार्वजनिक सेवा सञ्चालन गर्नका लागि यस्तो निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् ।
प्रतिनिधिसभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपद्बाट उत्पन्न विशेष परिस्थितिका लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न पनि बजेट रकमान्तर गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
सार्वजनिक आर्थिक व्यवस्थापनको सवलीकरण र सेवा प्रवाहको प्रभावकारितासम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंकबाट १०० मिलियन अमेरिकी डलर बजेटरी सहायताका रूपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि भएको मन्त्री खरेलले जानकारी दिए । आगामी कात्तिक ३ देखि ५ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्र«सङ्घीय व्यापार र विकाससम्बन्धी १६औँ सभामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई स्वीकृति दिने निर्णय पनि भएको छ ।
शर्तहरू पालना गर्नेगरी नेपाल विद्युत् प्राधिकरणको स्रोत व्यवस्थापन गर्न रु २० अर्बबराबरको ऋणपत्र÷ऊर्जा बण्ड चरणबद्ध रूपमा निष्काशन गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति प्रदान गरिएको छ । नेपाल न्याय सेवा, न्याय समूह, राजपत्राङ्कित प्रथम श्रेणीका आठ जना अधिकृतको सरुवा गरिएको छ ।











Leave a Reply