निःशुल्क आँखा शिविरबाट चार सय २१ जना लाभान्वित


Please Share:

सिरहा । लहान नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा जनता मावि गाढामा आज वडा नं १९ र २३ का स्थानीयवासीका लागि निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । शिविरबाट ४२१ जना स्थानीयवासीले निःशुल्क आँखा जाँचसम्बन्धी सेवा लिएका छन् ।

जाँच गरिएकामध्ये १४५ जनामा मोतिविन्दु देखा परेको वडा नं १९ का वडाध्यक्ष कमरुदिन राइनले जानकारी दिए । उनका अनुसार मोतिविन्दु पत्ता लागेका सबै बिरामीको निःशुल्क शल्यक्रिया गर्न अस्पताल जाने व्यवस्था मिलाइएको छ ।

जनताको स्वास्थ्य सेवामा नगरपालिकाको प्रतिबद्धता दोहोर्‍याउँदै लहान नगरप्रमुख महेशप्रसाद चौधरीले आर्थिक अभावका कारण नगरका कोही पनि आँखाजस्तो संवेदनशील अङ्गको उपचारबाट वञ्चित हुन नपरोस भनेर शिविर सञ्चालन गरिएको बताए।

उनले भने, “हाम्रो एउटै लक्ष्य आर्थिक अभावका कारण नगरका नागरिकले आँखाको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने छ । त्यसैले हामीले अस्पतालसँगको सहकार्यमा वडावडामा पुगेर निःशुल्क जाँच र शल्यक्रियाको प्रबन्ध मिलाएका छौँ । यो सेवालाई हामीले निरन्तरता दिनेछौँ र बाँकी रहेका वडामा पनि शिविर सञ्चालन गरी सबै नगरवासीलाई सेवा उपलब्ध गराउनेछौँ ।”

नगरपालिकाले विगत तीन वर्षदेखि निःशुल्क स्वास्थ्य शिविरलाई प्राथमिकता दिँदै आएको छ । हालसम्म नगर क्षेत्रमा करिब १५ हजार भन्दाबढी नागरिकले निःशुल्क आँखा जाँच सेवा लिएका छन् भने दुई हजार ३०० भन्दा बढीले निःशुल्क मोतियाविन्दु शल्यक्रिया गराइसकेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *