काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गरेका हुन् ।
राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले बिदाई गरे । सो अवसरमा सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक निकायका प्रतिनिधिलगायत उपस्थित थिए । राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यसुची रहेको छ । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।
संयुक्त राष्ट्रसङ्घको निर्णयअनुसार यो दोस्रो सम्मेलन ३० वर्षपछि हुन लागेको हो । यसअघि पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक कतारले सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ ।
यस्तै, उनको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।











Leave a Reply