सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाउदै सञ्चार मन्त्रालय


Please Share:

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तारका लागि सरकार प्रतिबद्धताका साथ लागिपरेको बताएका छन् ।

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको आज स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारका लागि अभियानकै रूपमा निरन्तर काम गरिने प्रतिबद्धता जनाए ।

मन्त्री खरेलले १९ वटा सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट पुर्‍याउन सफल भएको बताउँदै अब दुर्गम क्षेत्रका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरिने बताए । उनले भने, “काठमाडौँको १९ महत्त्वपूर्ण सार्वजनिक र संवेदनशील क्षेत्रमा निःशुल्क इन्टरनेट विस्तार गर्‍यौँ । यसलगत्तै हाम्रो अभियान मुलुकको इन्टरनेट पहुँचका हिसाबले अत्यन्तै दुर्गम मानिएका सोलुखुम्बु, रामेछाप, रौतहट, गुल्मी, म्याग्दी, जुम्ला, बैतडीलगायत जिल्लाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेट पुर्‍याउने लक्ष्यअनुरूप काम अगाडि बढाइएको छ ।”

सेवा विस्तारका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरण लागिपरेको छ । यसका साथै देशका अन्य महत्त्वपूर्ण सहर ‘जहाँ जहाँ निःशुल्क वाइफाइ आवश्यक पर्छ’ त्यहाँ क्रमशः विस्तार गर्दै जाने योजना बनाइएको छ । प्राधिकरणको अग्रसरतामा नेपाल टेलिकम, निजी क्षेत्रका एनसेल, वल्र्डलिङ्क, भायोनेटलगायत कम्पनीसँग समन्वय र सहकार्यका साथै समुदायको समेत साझेदारीमा यसलाई अगाडि बढाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *