काठमाडौं । कृषि तथा पशुपछी विकास मन्त्री डा मदनप्रसाद परियारले हिमाल संरक्षणको मुद्दामा नेपालले विश्व समुदायबीच अग्रणी र नेतृत्त्वदायी भूमिका खेल्न सक्नुपर्ने बताएका छन् ।
अन्तरराष्ट्रिय पर्वतीय दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनका असरबाट नेपाल धेरै प्रभावित मुलुकमध्ये एक भएको बताउँदै उनले यसका असरसँग जुध्न सामूहिक प्रयासको आवस्यकता औँल्याए ।
मन्त्री डा परियारले पर्वतीय क्षेत्रका स्थानीय समुदाय, आदिवासी, जनजाति, दलित र पछाडि परेका समुदायले पर्वत र प्रकृति संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको बताए । “यी समुदायले संरक्षण गरेका प्रकृति स्रोत, साधन र त्यसबाट उत्पादन भएका वातावरणीय सेवाबाट विश्व समुदाय मुख्य गरी तल्लो तटीय क्षेत्रका समुदाय लाभान्वित भएका छन् । तर उपल्लो तटीय क्षेत्रका समुदायले प्रकृति संरक्षणमा गरेको योगदानको कदर हुन सकेको छैन”, उनले भने ।
मन्त्री डा परियारले विश्वव्यापी बढ्दो तापक्रमका कारण हिमनदीहरू पग्लने, हिउँ ताल बन्ने र फुट्ने तथा त्यसको नकारात्मक असर तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने दुई अर्बभन्दा बढी जनसङ्ख्यालाई परेको जानकारी दिए ।
सबैले मिलेर हिमनदीको संरक्षण, जलस्रोतको दिगो उपयोग, पर्वतीय खाद्य प्रणालीको सुदृढीकरण, वैज्ञानिक अनुसन्धानको विस्तार र जलवायु वित्तमा न्यायपूर्ण पहुँचका लागि साझा रूपमा प्रतिबद्ध भएर काम गर्नुपर्नेमा मन्त्री परियारले जोड दिए ।
उनले नेपाल सरकारले हिमनदी संरक्षण, जलस्रोतको दिगो व्यवस्थापन, जैविक विविधता, कृषि प्रणाली तथा समुदायको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय जलवायु नीति–२०७६, राष्ट्रिय अनुकूलन योजना–२०७९, तेस्रो राष्ट्रिय निर्धारित योगदान–२०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी गराए ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव गोविन्दकुमार कार्कीले कोप–३० मा नेपालले प्रभावकारी रूपमा आफ्ना विषय राख्न सफल भएको बताए । साथै उहाँले आगामी दिनमा पर्वतीय संरक्षणका विषयमा थप प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिए ।











Leave a Reply