हात्ती तथा पर्यटन महोत्सवले चितवनमा पर्यटक आगमनमा वृद्धि, बसाइ लम्ब्याउँदैछन् पर्यटक


Please Share:

चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ ।

नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरु भन्छन्, ‘यो कार्यक्रम हात्ती र मान्छेबीचको सम्बन्ध सेतु मात्रै बनेको छैन, हात्ती संरक्षणको सन्देश दिन र चितवनमा पर्यटक आगमन वृद्धि गर्न सफल भएको छ ।

भीमकाय हात्तीका गतिविधि प्रस्तुत गरी चितवनको पर्यटन प्रवद्र्धन र वन्यजन्तु संरक्षणको प्रयास थालिएको २१ वर्ष पुगेको छ । सन् २००४ मा सुरु गर्दा हात्ती क्याराभान र ‘अन्तरराष्ट्रिय हात्ती दौड’ प्रतियोगिताका रुपमा आयोजना गरिएको थियो । कार्यक्रमले केही वर्षमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्याति कमायो ।

पछिल्ला समयमा पशु अधिकारका कुरा उठेपछि अझै हात्तीमैत्री कार्यक्रम कसरी आयोजना गर्न सकिन्छ भनेर चिन्तन मनन हुँदै परिमार्जित रुपमा हात्ती महोत्सव आयोजना भइरहेको छ । यसपालि पुस ११ शुक्रबारदेखि सुरु भएको महोत्सव आइतवार सम्पन्न भएको छ ।

‘यो चितवनकै पर्याय र सौराहाको ब्राण्ड भइसकेको कार्यक्रम हो’, क्षेत्रीय होटल संघ चितवनका पूर्व कोषाध्यक्ष तथा होटल सेभेनस्टारका सञ्चालक माधव दुवाडी भन्छन् । उनले हात्ती महोत्सवकै कारण यो अफ सिजनमा सौरहामा २० देखि ३० प्रतिशतसम्म पर्यटक भित्र्याउन सफल भएको दावी उनले भने ।

अहिले क्रिसमको समय हो । अंग्रेजी नयाँ वर्ष संघारमा रहेको छ । यो समयमा आएका पर्यकटहरु क्रिसमस मनाउन आफ्नै देश फर्किन्छन् । विगतमा अहिले जस्तो नेपालमा आन्तरिक पर्यटकको चाप थिएन । पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक आएनन् भने सुनसान हुने गर्छ । अफ सिजनमा फर्किन लागेका पर्यटक रोकेर बसाई लम्ब्याउन र नयाँ पर्यटक बोलाउन यस्ता कार्यक्रम उपयुक्त मानिने पर्यटनविज्ञ विश्व सुवेदीको प्रतिक्रिया छ ।

सौराहामा रहेका हात्ती चितवनकै शान हो । यहाँ टाँगा, घोडाहरु लोप भइसके । हात्तीका गतिविधिले वन्यजन्तु पर्यटनमा ठूलो योगदान पुगेको हात्तीविज्ञ डा कमल गैरे बताउँछन्। उनी भन्छन्, ‘वन्यजन्तु पर्यटनका लागि हात्ती नभइ हुन्न, संरक्षणका लागि पनि हात्ती चाहिन्छ कुनै बाघ, गैंडा वस्तीमा आउँदा हात्ती नै प्रयोग गर्नुपर्छ, त्यसैले पर्यटनसँग हात्तीलाई नजिक्याउनु, सम्बन्ध विस्तार गर्नुले वन्यजन्तु पर्यटनमा महत्वपूर्ण टेवा पुग्छ र पुगेको पनि छ, यो हात्ती महोत्सव त्यसैको पर्याय हो ।’

यसरी सुरु भएको थियो हात्ती महोत्सव
क्रिसमसका समयमा सौराहामा पर्यटक शुन्य भए । विदेशी पर्यटक नआउँदा र आएका पर्यटक फर्किँदा सौराहा सुनसान हुन्थ्यो ।

सन् २००४ मा हात्ती दौडको सूरुवात गर्ने मध्यका एक क्षेत्रीय होटल संघ चितवनका तत्कालीन उपाध्यक्ष हरिभक्त घिमिरेका अनुसार कोरियामा बस्ने नवराज पन्तले हात्ती क्याराभानको प्रस्ताव गरेका थिए। पर्यटकका समूह घुमाउन ल्याउने हुँदा सौराहामा धेरै हात्ती देखेपछि उनले सो प्रस्ताव गरेका थिए ।

त्यसबेला क्षेत्रीय होटल संघका अध्यक्ष हुनुहुन्थ्यो घनश्याम श्रेष्ठ, उपाध्यक्ष हरिभक्त घिमिरे उनीहरुसँगै अग्रज पर्यटन व्यवसायी गिरिधारी चौधरी, शङ्कर सैंजु, रामकुमार अर्यालबीच छलफल भयो र क्षेत्रीय होटल संघले कार्यक्रम गर्ने निष्कर्ष निकाल्यो । अनि हात्तीको क्याराभान र हात्ती दौड प्रतियोगिता आयोजना गरिएको घिमिरेले सुनाए ।

सन् २००४ बाट प्रतियोगिता सुरु भयो । देश र विदेशका नाम चलेका पर्यटनसँगसम्बद्ध संस्था सहभागी भए । विश्वका पत्रकारको ध्यान तान्यो र कार्यक्रम विश्वव्यापी बन्यो । त्यसपछि व्यावसायी उत्साहित भए । कार्यक्रम देखाउँदा आन्तरिक र बाह्य पर्यटकको चाप राम्रो भएकाले अझै व्यवस्थित गर्दै जाने निधोमा व्यवसायीहरु पुगे ।

त्यसबेला मुख्य आकर्षण हात्ती दौड भए पनि टाँगा, गाडा, डुंगा दौडका कार्यक्रम हुन्थे । विभिन्न मुलुकका व्यवसायिक घरानाले स्पोन्सर गरेका हुन्थे । झण्डै एक दशक हात्ती दौड प्रतियोगिता राम्रै भयो । चितवनको ब्राण्ड बन्यो । विश्वकै एक मात्र कार्यक्रम बन्यो ।

जसले देश र विदेशका पर्यटकलाई तान्न पनि सफल भयो। अफ सिजनमा पर्यटक आगमन केही बढाएपछि दौडलाई अझै विकसित गरेर अन्य गतिविधि समावेश गर्न थालियो। सौराहाका व्यवसायीहरुलाई यो थप प्रेरणा भने पश्चिम चितवनको मेघौलीमा टाइगर टप्स होटलले आयोजना गर्ने अन्तरराष्ट्रिय हात्ती पोलोले पनि दिएको थियो ।

हात्तीमाथि चढेर पोलो स्टिकले भुँइमा रहेको पोलो बललाई पोष्टमा छिराएर खेलिने पोलो खेलमा देशी र विदेशी पर्यटकको बाक्लो चाप हुन्थ्यो ।

त्यस्तै चाप सौराहामा पनि भित्र्याउन गरिएको प्रयासमा व्यवसायी सफल भए । पछि टाइगरटप्स होटल निकुञ्जबाट हट्यो र विस्तारै विभिन्न जिल्लामा सारिएको पोलो बन्द भयो र सौराहामा आयोजना हुने हात्ती महोत्सव कार्यक्रममा पोलो पनि समावेश गरिएको थियो ।

हात्ती दौडलाई बृहत बनाउँदै जाने क्रममा हात्ती महोत्सवकै रुपमा आयोजना गर्न थालियो । त्यसमा हात्तीको वनभोज र हात्ती सुन्दरी प्रतियोगिता थपेसँगै थप आकर्षण भयो। क्रमैसँग अन्य यस्ता कार्यक्रम हुँदै आइरहेका छन् । गणेश भगवानका रुपमा यसपाली आज हात्तीको पूजा पनि गरिएको छ ।

हुन त वन्यजन्तु पर्यटनको उत्कृष्ट गन्तव्य हो चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु छ र चितवनको पर्यटक पनि छ। त्यसैले वन्यजन्तुका क्रियाकलाप, उनीहरुका आनीवानी, रहनसहन तथा मौलिक संस्कृति हेर्न पर्यटकहरु यहाँ लालायित हुन्छन् ।

पर्यटकहरु चितवन र सौराहा घुम्न आउनुको मुख्य चाह नै बाघ, गैंडा, हात्तीलगायत वन्यजन्तु अवलोकन हो । नेपालमा दुर्लभ एक सिंगे गैंडाको मुख्य वासस्थान पनि चितवन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *