कुलमान – रवि र बालेन अब एउटै गाडीमा


Please Share:

काठमाडौं ।  कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एउटै राजनीतिक दल वा मोर्चाबाट आगामी निर्वाचनमा जाने सहमतिमा पुगेको खबरले नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ । 

परम्परागत दलप्रतिको जनअसन्तोष, युवापुस्ताको बढ्दो राजनीतिक सक्रियता र वैकल्पिक नेतृत्वको खोजीबीच देखिएको यो एकता चासोको केन्द्र बनेको छ ।

कुलमान घिसिङ सुशासन, विद्युत् सुधार र सार्वजनिक सेवामा परिणाममुखी नेतृत्वका लागि परिचित छन् । रवि लामिछाने संस्थागत राजनीतिक विकल्पको प्रतिनिधित्व गर्छन् भने बालेन शाह स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएर स्थापित राजनीतिक संरचनालाई चुनौती दिएका पात्र हुन् ।

यो एकताको पछाडि जेनजी अभियानीहरूको भूमिका महत्वपूर्ण देखिएको छ । उनीहरूले केवल संवादको सहजीकरण मात्र होइन, वैकल्पिक राजनीतिक एजेन्डा निर्माणमा समेत प्रभाव पारिरहेका छन् । यसले आगामी दिनमा नागरिक आन्दोलन र दलगत राजनीतिबीचको सम्बन्ध कस्तो हुनेछ भन्ने प्रश्न पनि उठाएको छ ।

स्रोतका अनुसार वार्ताका क्रममा कुलमान घिसिङले सह- सभापति पदसहित केन्द्रीय समिति, समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारमा ३० प्रतिशत हिस्सा माग गरेका थिए । रास्वपा पक्षले भने हालको राजनीतिक सन्तुलनमा १५ प्रतिशतभन्दा बढी हिस्सा सम्भव नभएको अडान राखेको थियो । यही शक्ति बाँडफाँडको विवादले वैकल्पिक शक्तिहरू पनि अन्ततः सत्ता गणितमै सीमित हुने हो कि भन्ने आशंका जन्माएको छ ।

यो सम्भावित एकताले शहरी मध्यम वर्ग, युवा मतदाता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आकर्षित गर्न सक्ने अनुमान गरिएको छ । तर, स्पष्ट नीति, संगठनात्मक संरचना र दीर्घकालीन राजनीतिक दृष्टिकोण बिना यो एकता केवल चुनावी सहकार्यमा सीमित हुन सक्ने जोखिम पनि उत्तिकै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *