ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न आदेश


Please Share:

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।

न्यायाधीश आनन्द श्रेष्ठको इजलासले दुवै जनालाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो। प्रहरीले चैत १४ गते पक्राउ गरी आइतबार अदालतमा उपस्थित गराएपछि म्याद थपको अनुमति प्रदान गरिएको हो।

शनिबार बिहान पक्राउ परेका ओली र लेखकविरुद्ध गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले फौजदारी मुद्दामा कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

आयोगको सिफारिसअनुसार मुलुकी फौजदारी संहिता, २०७४ को दफा १८१ र १८२ अन्तर्गत अनुसन्धान भइरहेको छ। दफा १८१ अनुसार लापरबाहीपूर्ण कार्यका कारण ज्यान गएको ठहर भए ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ। त्यस्तै, दफा १८२ अनुसार हेलचेक्र्याइँका कारण ज्यान गएको अवस्थामा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

सरकारको निर्णयसँगै सुरु भएको यो अनुसन्धान प्रक्रियाले भदौ २३–२४ को घटनासम्बन्धी जिम्मेवारी निर्धारण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *