कारगारबाट भागेका कैदीबन्दीहरूमाथी उच्च निगरानी


Please Share:

काठमाडौं । प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिमा रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ ।

‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र छ हजार अझै फरार रहेकाले दसैँ, तिहार, छठलगायतका चाडपर्वको समयमा सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनले भने, “भागेका कैदीहरूमा कोही चोरडाकाहरू पनि छन् । कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भवना लिनसक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौँ । सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ ।”

त्यसैगरी उनले गाउँमा बदलाको भवना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएको र उनीहरूले सम्भावित घटना घटाउन सक्ने भएकाले त्यसतर्फ प्रहरी सचेत रहेको प्रवक्ता घिमिरेले बताए।

भागेका कैदीबन्दीहरूको खोजी अभियान जारी रहेकाले कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिनसमेत उनले आग्रह गरेका छन् । उनले भागेका कैदीबन्दीको प्रहरीले उच्च निगरानी राखेकाले उनीहरू गलत गतिविधिमा संलग्न भएमा जुनसुकै समयमा पनि पक्राउ पर्ने जानकारी दिए ।

उता कारागार व्यवस्थापन विभागले ‘जेनजी’ युवाहरूको प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *