काठमाडौँ । गायक अशोक दर्जीको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ निर्माण गरिएको छ । गायक दर्जीलाई सडकबाट उद्धार गरेर गायनसम्म साथ दिनुभएका सङ्गीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशमा उक्त चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ ।
निर्देशक बुढाथोकीले गायक दर्जीको बाल्यकालका घटनाक्रम, आफूमाथि लागेका केही आरोपको यथार्थतालाई समेटेर चलचित्रको कथा तयार गरिएको बताए। उनले भने “सडकमा गीत गाउँदै हिँड्ने गायक दर्जीको जीवन परिवर्तन गरेको कथालाई चलचित्रमा समेटेको छु । यो पूर्णतया उनकै जीवनी होइन, यसलाई हामीले चलचित्रकै रुपमा तयार गरेका छौँ, तर मूलभूत घटनाक्रम दर्जीकै जीवनको लिइएको छ ।”
चलचित्र ‘मन बिनाको धन’ मा गायक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झालगायतका कलाकारले अभिनय गरेका छन् ।
गायक दर्जीले निर्देशक बुढाथोकीकै कारण आफूले शिक्षा र साङ्गीतिक वातावरण पाएको बताए । उनले भने, “मलाई सडकबाट ल्याएर गायक बनाइदिनुभयो । म यसरी चिनिनु गायक बुढाथोकीकै देन हो । यो कथाले मेरो सङ्घर्ष देखाएर प्रेरणा पनि दिन्छ, र म जस्ता सडक बालकलाई सपना देखाउन तथा गन्तव्यमा पु¥याउन प्रेरित गर्छ ।”











Leave a Reply