काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरुले चुनावमा भाग लिएर निर्वाचनलाई सफल तुल्याउन आह्वान गरेका छन् ।
दल दर्तापछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा दलका नेताहरुले स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष ढङ्गले निर्वाचन गराउने जिम्मेवारी सरकारको भए पनि त्यसलाई सफल तुल्याउने दायित्व भने राजनीतिक दल स्वयम्कै भएको स्पष्ट पारे ।
नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले निर्वाचनमा भाग लिएर मतदाताको मन जित्न राजनीतिक दलहरुलाई आह्वान गरे । “सबै राजनीतिक दलले शान्तिपूर्ण तवरले निर्वाचनमा भाग लिऔँ र सफल बनाऔँ । बढीभन्दा बढी मतदाताको मत लिन कोसिस गरौँ”, उनले भने ।
मुलुकका विभिन्न राजनीतिक दलबीचको एकताबाट गठन भएको नेपाली कम्युनिष्ट पार्टीले केही दिनअघि मात्रै आयोगमा दल दर्ता गरेको थियो । आयोगले आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता गरिरहेको छ । आगामी माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।
आयोगको सूचनाअनुसार आसन्न निर्वाचनमा भाग लिन दल दर्ता गरिएको जानकारी दिँदै नेता पाण्डेले अब आफ्नो पार्टी सम्पूर्ण गतिविधि निर्वाचन केन्द्रित हुने बताए ।
दल दर्ताका लागि आयोग पुग्नुभएका नेपाल मानवतावादी पार्टीका अध्यक्ष मेघबहादुर कामीले आगामी प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन आफूहरु आतुर रहेको बताए । “हामी मानवतावादी हौँ, विभेद, विकृति, बेथिति र भ्रष्टाचारको अन्त्य गर्ने तथा समुन्नत समाजको निर्माण गर्ने अभियानमा लागेका छौँ”, उनले भने । आफूहरुले मानवतावादी सिद्धान्त बोकेका कारण पनि जनताले मत हाल्ने उनको विश्वास छ ।











Leave a Reply