काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न ‘जेनजी’हरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज प्रधानमन्त्रीसहित अन्तरिम सरकारका मन्त्री र जेनजी अभियान्तहरूसँगको छलफलमा उहाँले निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने बताएका हुन् ।
राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको चाहना अनुसारको देश बनाउन नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि बढ्नुपर्छ भन्ने ध्ययले निर्वाचन घोषणा भएकाले यसलाई सामान्य रूपमा नलिन आग्रह गरे । “युवा पुस्ताले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको छ”, उनले भने, “त्यसैले यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई मेरो आग्रह छ ।”
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले चुनावमा युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउन आग्रह गरेको जानकारी दिए ।
राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई सहभागी गराएर जेनजीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीहरूका बाँकी मागबारे सरकारले ध्यान विश्वास व्यक्त गरे ।
उनले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तरनिहित राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अधिकार प्रयोग गरेर अन्तरिम सरकार गठन भएको भन्दै यसलाई आन्दोलनको सफलताको रूपमा लिएर फागुन २१ गतेको चुनावमा होमिन आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरिएको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहानेहरूबाट सचेत रहन पनि आग्रह गरे ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो उमेर र स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न गरेको रातभरको अथक प्रयासको प्रशंसा गर्दै राष्ट्रपतिले युवाहरूलाई गरे यो आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको बताइन् ।











Leave a Reply