फुटबलको महाकुम्भ २०२६ : ४८ टोली सहभागी, नेपालमा कहाँ हेर्ने ?


Please Share:

काठमाडौं । विश्व फुटबलका समर्थकले लामो समयदेखि प्रतिक्षा गरेको क्षण बिहीबारदेखि सुरु हुँदैछ । मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलसँगै विश्वकप २०२६ को औपचारिक सुरुवात हुनेछ ।

४८ टोली, १०४ खेल, ३९ दिन
यसपटक प्रतियोगितामा इतिहासमै पहिलोपटक ४८ राष्ट्र सहभागी हुँदैछन् । प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडाका १६ शहरमा फैलिएको छ । फाइनल जुलाई १९ मा न्युयोर्क–न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुनेछ ।

विश्वकपको स्वरूपमै ठूलो परिवर्तन
यसअघि ३२ टोली सहभागी हुने विश्वकप अब ४८ टोलीमा विस्तार गरिएको छ । यसले थप १६ राष्ट्रलाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा अवसर दिएको छ । अमेरिका, मेक्सिको र क्यानडा गरी तीन देशले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन् ।

प्रतियोगिताका खेलहरू नेपाली समयअनुसार राति ढिलो र बिहान सबेरै हुनेछन् । अधिकांश खेल राति १२ः४५ देखि बिहान ७ः४५ सम्म विभिन्न समयमा आयोजना हुनेछन् ।

समूह विभाजन
समूह क

मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक

समूह ख

क्यानडा, बोस्निया–हर्जगोभिना, कतार, स्विट्जरल्याण्ड

समूह ग

ब्राजिल, मोरक्को, हाइटी, स्कटल्याण्ड

समूह घ

अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्की

समूह ङ

जर्मनी, कुरासाओ, आइभरी कोस्ट, इक्वेडर

समूह च

नेदरल्याण्ड्स, जापान, स्वीडेन, ट्युनिसिया

समूह छ

बेल्जियम, इजिप्ट, इरान, न्युजिल्याण्ड

समूह ज

स्पेन, केप भर्डे, साउदी अरब, उरुग्वे

समूह झ

फ्रान्स, सेनेगल, इराक, नर्वे

समूह ञ

अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन

समूह ट

पोर्चुगल, कंगो डीआर, उज्बेकिस्तान, कोलम्बिया

समूह ठ

इंग्ल्याण्ड, क्रोएसिया, घाना, पानामा

उद्घाटन समारोह पनि विशेष

यसपटक उद्घाटन समारोह एउटै शहरमा सीमित रहने छैन । मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै कार्यक्रम हुनेछन् । मेक्सिको सिटीको मुख्य समारोहमा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकहरूले बताएका छन् ।

आयोजक राष्ट्रहरूको चुनौती
क्यानडा, मेक्सिको र अमेरिका तीनै टोली घरेलु मैदानको फाइदा उठाउँदै राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् । क्यानडासँग जोनाथन डेभिड र टाजोन बुकाननजस्ता प्रभावशाली खेलाडी छन् भने मेक्सिको प्रशिक्षक हाभियर अगुइरेको नेतृत्वमा नयाँ आत्मविश्वासका साथ मैदान उत्रने तयारीमा छ। अमेरिका माउरिसियो पोचेटिनोको प्रशिक्षणमा नयाँ ऊर्जा प्राप्त गरेको मानिन्छ ।

मेसी र रोनाल्डोको सम्भावित अन्तिम विश्वकप
अर्जेन्टिनाका कप्तान लियोनल मेसी लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा छन् । प्रतियोगिताको क्रममा ३९ वर्ष पुग्ने मेसीका लागि यो अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ ।

उता ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो अझै पोर्चुगलको टोलीमा छन् । विश्वकप उपाधि उनको करिअरको अधुरो सपना मानिन्छ ।

फ्रान्सका किलियन एमबाप्पे, इङ्ल्यान्डका ह्यारी केन, स्पेनका लामिन यामाल, ब्राजिलका राफिन्हा र नेयमारजस्ता स्टारहरू प्रतियोगिताका प्रमुख आकर्षण रहने अपेक्षा गरिएको छ ।

नेपालमा कहाँ हेर्ने ?
विश्वकप २०२६ का खेलहरू हिमालयन स्पोट्र्स टेलिभिजन र डिएगो एपमार्फत प्रत्यक्ष प्रसारण हुने जनाइएको छ । एजेन्जसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *