बाँकेमा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी


Please Share:

बाँके । भूमि समस्या समाधान आयोगले बाँकेमा पुनः काम सुरु गरेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका दुई हजार १०१ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणको तयारी गरेको आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिए ।

उनका अनुसार आयोगकोे हालैको बैठकले जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका दुई हजार १०१ अव्यवस्थित बसोवासीकोे जग्गा दर्ता र दाबीविरोधका लागि एक हप्ताको म्याद दिइएको छ ।

“राप्तीसोनारी–४ का आठ सय ६१ जना र बैजनाथ–७ का तीन सय ७२ जनालाई राजस्व तिर्नका लागि र कोहलपुर–१ का आठ सय ६८ जनालाई दाबीविरोधका लागि सूचना जारी गरिएको छ”, आयोगका अध्यक्ष खनालले भने, “हामीले धमाधम काम सुरु गरेका छौँ, राजस्व र दाबीविरोधको सूचनाअनुसार लालपुर्जा तयार र वितरणको काम हुनेछ ।”

भूमि समस्या समाधान आयोग जिल्ला समितिले यसअघि करिब एक हजार १०० लालपुर्जा तयार गरी करिब नौ सय वितरण गरेको अध्यक्ष खनालको भनाइ छ । कोहलपुर नगरपालिका–१ का अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो ।

यसअघि सङ्कलन गरिएका निवेदनको स्थानीय तहबाट प्रमाणीकरण, अव्यवस्थित बसोवासीले भोगचलन गरिरहेको जग्गाको डिजिटल नापजाँच र सिमाना विवाद रहेका क्षेत्रमा वडा समितिको रोहबरमा मेलमिलाप र नापी गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *