बेलढुङ्गामा पाहुनाको रोजाइ बन्यो ‘कोदोको सेलरोटी’


Please Share:

बागलुङ । बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन् ।

घरबास पुग्नुभएका सामाजिक व्यक्तित्व डा सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताउँछन । यहाँ पाउने अन्य परिकारसँगै धेरैको रोजाइमा कोदोका परिकार बढी रहेका छन् । पाठकलाई पनि आतिथ्यता, सांस्कृतिक कार्यक्रमसँगै बिहानको खाजामा दिइने कोदोका परिकारले झनै मोहित बनाएको थियो ।

गरिबको खान्की भनेर चिनिँदै आएको कोदोका परिकार सामुदायिक घरबास आउने अधिकांश पाहुनाको रोजाइमा पर्न थालेका छन् । घरबासमा कोदोको रोटी, सेलरोटी, कोदो र फापरको ढिडोसँग लोकल कुखुरा र खसीको मासु तथा भाँगो राखेको आलुको अचार मुख्य परिकारका रूपमा रहेका छन् ।

आगन्तुक पाहुनाले ढिडो, सेलरोटी, फापरका परिकार, उसिनेको आलु, सिल्टुमरको चटनी, आलु चिप्स, अचार, आलुको रोटीलगायत परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको हो । घरबासमा प्रगतिशील आमा समूहले पाहुनाको स्वागत तथा सांस्कृतिक कार्यक्रमको व्यवस्था मिलाउँदै आएको छ ।

यो स्थान काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा अवस्थित छ । सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि यहाँ पर्यटक आगमनमा वृद्धि भएको छ, जसको फाइदा धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासलाई भएको छ । दुई हजार ६१४ मिटरको उचाइमा रहेको बेलढुङ्गा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *