महोत्तरी । जेन जी प्रदर्शनको मौका छोपेर महोत्तरीका वन क्षेत्रमा सयौँको सङ्ख्यामा सालका रुख ढालिएका छन् ।
पूर्वपश्चिम राजमार्गबाट बर्दिवास–५ टुटेश्वरधाम र गणन्ता बस्ती जाने सडक छेउका दुई सय २५ वटा सालका रुख ढालिएको डिभिजन वन कार्यालय महोत्तरीले पुष्टि गरेको छ । बर्दिवास–५ मा पर्ने टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्छ ।
गत मङ्गलबारदेखि बिहीबार रातिसम्म यी रुख काटिएको हुनुपर्छ । जेनजी आन्दोलनले सर्वसाधारण र वन कर्मचारीको आउजाउ निकै पातलिएको बेला पारेर रुख ढालिएका हुन्, डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रले भने, यो जघन्य अपराधमा संलग्न मानिसको खोजी भइरहेको छ । गढन्ता सडक छेउका नौ र अरु रुख टुटेश्वर सडक छेउका काटेर ढालिएका छन् ।
गत मङ्गलबार केही मान्छे पूर्वपश्चिम राजमार्ग छेउकै वन क्षेत्रभित्रको टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको कार्यालय आगजनी र तोडफोड गर्ने प्रयासमा पुगेको बुझिएको उनको भनाइ छ । उनीहरुले सो दिन कार्यालयमा समितिका पदाधिकारी र कर्मचारी देखेपछि तोडफोड नगरे पनि त्यसयता दुई सडक किनार छेउका रुख ढालेका हुन सक्ने अहिले उनको भनाइ छ ।











Leave a Reply