सरकारले तत्काल राजदूत नियुक्त गर्दैनः सञ्चारमन्त्री खरेल


Please Share:

काठमाडौँ । सरकारले रिक्त रहेका देशमा तत्काल राजदूत नपठाउने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अन्तरिम सरकारले तत्काल राजदूत नियुक्त नगर्ने बताएका छन् ।

“रिक्त रहेका देशमा राजदूत नियुक्त तत्काल हुँदैन, राजदूतावास रहेका दोस्रो तहका कर्मचारीबाट चलाउन सकिन्छ, सरकार आर्थिक रुपमा मितव्ययी ढङ्गले चल्छ”, मन्त्री खरेलले भने ।
सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गर्दै स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वल्ड समिट फर सोसियल डेभलपमेन्ट’ विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा यही कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । साथै आगामी मङ्सिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *