सुकुम्वासी समस्या, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण


Please Share:

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सुकुम्वासी समस्या, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गीता गुरुङले सुकुमवासी समस्याको दीगो व्यवस्थापन, महँगी नियन्त्रण, शिथिल अर्थतन्त्रलाई नयाँ गति दिन तथा जनतामा आशा जगाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गङ्गादेवी श्रेष्ठले कूटनीतिक प्रयासमार्फत नेपाल–भारत सीमा समस्या समाधान गर्न सरकारलाई सुझाव दिइन् ।

नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाहीले आरोपप्रत्यारोप त्यागेर समृद्धिको जनअपेक्षा पूरा गर्नेतर्फ सबैको प्रयास केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।

श्रम संस्कृति पार्टीका अम्बिकादेवी सङ्ग्रौलाले नागरिकको जीउधनको रक्षा गर्ने जिम्मेवारी सत्ता र प्रतिपक्ष दुवैको भएको उल्लेख गर्दै कानुनी शासन कायम गर्न सरकारको ध्यानाकर्षण गराइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहीर अलि भाटले सदनको गतिरोध अन्त्य गरेर सभाका कामकारबाहीलाई व्यवस्थित बनाउने सन्दर्भमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सभामुखलाई सुझाव दिए ।

त्यसअघि बैठक प्रारम्भ हुनेबित्तिकै विपक्षी दलहरुले आसनबाट उठेर विरोध जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *