बागलुङ । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन् ।
दश दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याउने गरेका छन् ।
मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्याउने गरेका छन् । यतिबेला सडक छेउछाउमा बाक्लै च्याङ्ग्राका बथानहरू भेटिन्छन् । सडकमै ग्राहक पुगेर खरिद गर्ने गरेका छन् ।
हिमाली क्षेत्रमा हुर्किएका च्याङ्ग्रा अन्यको तुलनामा स्वादिष्ट र औषधीय गुण हुने हुँदा धेरैको रोजाइमा पर्ने गरेको छ । मुस्ताङ र डोल्पामा खरिद गरेका ल्याएका च्याङ्ग्राको मूल्य चितवन र बुटवलसम्म पुर्याउँदा बढी हुने गरेको व्यापारी बताउँछन् । व्यापारीले काठमाडौँ, पोखरा, चितवन र बुटवलसम्म ट्रकमार्फत ढुवानी गर्ने मुस्ताङका च्याङ्ग्रापालक किसान नामदेव गुरुङले बताए ।
तीन दिन हिँडेर बागलुङ आइपुग्नुभएका गुरुङले पोखरासम्म पुगेर फर्किने बताए । तीन सय च्याङ्ग्रा लिएर आएका गुरुङले बागलुङको मालढुङ्गा आइपुग्दा ७० वटा बिक्री भएको सुनाए । आफूहरूले उत्पादन गरेको च्याङ्ग्रा खरिदका लागि पोखरा र काठमाडौँबाट व्यापारीहरू गोठमै पुगेर खरिद गर्ने उनको भनाइ छ । हिमाली गोठबाट खरिद गरेको च्याङ्ग्रा तराईसम्म पुग्ने गरेको गुरुङ बताउँछन् ।











Leave a Reply