काठमाडौं । थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।
विज्ञप्ति अनुसार मुमा महारानी सिरिकितको केही समयदेखि रक्त सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेका थियो । मेडिकल टोलीको निरन्तर प्रयासका बाबजुद उनको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको र अन्ततः अक्टोबर २४, २०२५ को राति ९ः२१ बजे बैङ्ककस्थित थाई रेड क्रस सोसाइटी अन्तर्गतको चुलालोङ्गकोर्न अस्पतालमा शान्तिपूर्वक देहावसान भएको उल्लेख गरिएको छ ।
मुमा महारानी आमा सिरिकित कितियाकाराको जन्म सन् १९३२ अगस्ट १२ मा भएको हो । उनको जन्मदिन थाइल्यान्डमा मातृ दिवसका रूपमा राष्ट्रिय बिदाका साथ मनाइन्छ ।
१८ वर्षको उमेरमा उनले तत्कालीन राजा भूमिबोल अदुल्यादेजसँग विवाह गरिन् । राजा भूमिबोल चकरी वंशका नवौँ सम्राट (राम नवौँ) थिए । उनको शासनकाल विश्वकै सबैभन्दा दीर्घकालीन राजामध्ये एक रह्यो । महारानी आमा सिरिकित पनि त्यसैगरी विश्वकी सबैभन्दा लामो समयसम्म सेवा गर्ने महारानीका रूपमा सम्मानित रहिन् ।
राजा भूमिबोलको सन् २०१६ मा निधन भएपछि उनका पुत्र महा भाजिरालोङ्कोर्नले सिंहासन सम्हालेका थिए । मुमा महारानी सिरिकित सन् २०१२ मा आएको स्ट्रोकपछि स्वास्थ्य समस्याका कारण सार्वजनिक रूपमा देखिन छोडेकी थिइन् ।











Leave a Reply